जनकपुरधाम कार्तिक २
देशभरमा अविरल वर्षाका कारण धानबाली डुमान परेको छन् । देशका विभिन्न स्थानमा काट्ने बेला भएको र काटेको धान निरन्तरको वर्षाका कारण डुबेका हुन् ।
विराटनगरस्थित कृषि विकास निर्देशनालयका अनुसार आइतबार बेलुकाको हावा पानी र सोमबार रातिबाट परेको अविरल वर्षाले धानखेतीलाई अधिक प्रभाव पारेको छ ।
निर्देशनालयका प्रमुख प्रकाश डाँगीका अनुसार रातिबाट परेको वर्षाबाट धानखेतीमा परेको क्षति बुझ्ने प्रयास भइरहेको छ ।
मोरङको सुनवर्षी नगरपालिकाका कृषि अधिकृत नरेशकुमार साहका अनुसार वर्षाले नगरपालिकामा करिब ४८ प्रतिशत धानखेतीमा क्षति पुगेको छ ।
साहका अनुसार यसपटक नगरपालिकामा करिब ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । वर्षाले अधिकांश स्थानको धानबालीमा क्षति पुर्याएको छ ।
कृषकले कान्छी मन्सुली धान खेतमा काटेर राखेकाले बढी नोक्सान बनाएको छ । बासमती, रन्जित, डिबी ११ तथा सरना धान खेतमा लडेका छन् ।

सुनवर्षी(३ का कृषक केदार बस्नेतका अनुसार आइतबारको हावाले धान लडाएर पानीमा डुबाउँदा धेरै क्षति पुगेको छ । करिब तीन बिगाह क्षेत्रफलमा धान रोपाइँ गरेको बताएका बस्नेतले वर्षाका कारण ७५ प्रतिशत क्षति पुगेको बताए ।
प्रदेशमा ९८ दशमलव ५४ प्रतिशत धान रोपाइँ भएको थियो । निर्देशनालयका अनुसार १४ जिल्लामा तीन लाख ३६ हजार एक सय २२ दशमलब ९७ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।
उच्च पहाडी क्षेत्र अन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बूमा यसपटक शतप्रतिशत २४ हजार एक सय १३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसैगरी मध्यपहाडी क्षेत्र अन्तर्गत इलाम, उदयपुर, ओखलढुङ्गा, पाँचथर, खोटाङमा पनि शतप्रतिशत रोपाइँ भएको थियो ।
तराईमा धान रोप्नका लागि दुई लाख २५ हजार आठ सय हेक्टर क्षेत्रफल रहे पनि दुई लाख २३ हजार आठ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । विगतको तुलनामा धानको उब्जनी बढी हुने आँकलन गरिए पनि वर्षाका कारण धानबालीमा ठूलो नोक्सानी पुगेको हो ।रासस