NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

आजदेखि नवरात्र प्रारम्भ, नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना

आजदेखि नवरात्र प्रारम्भ, नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना

काठमाडौँ ।
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।
बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ ।यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
हिन्दूहरुको महत्त्वपूर्ण पर्व बडादसैं र जमरा नेपाली मौलिक संस्कृति एवं परम्पराका पर्याय हुन् । घटस्थापनाको दिन छरेर उमारिएको जौं, गहुँ र मकैका पहेँला आँकुरा अर्थात् जमरालाई दसैंको टीकासँगै देवीको प्रसादको रुपमा लगाइन्छ । यसरी लगाइने जमराको आफ्नै धार्मिक तथा शास्त्रीय महत्त्व छ ।विजया दशमीको पहिलो दिन, आश्विन शुक्लप्रतिपदामा पूजाकोठामा चोखो बालुवा अथवा माटोमा धार्मिक अनुष्ठान गरी शुभसाइतमा जौं, गहुँ र मकै बाक्लोगरी छरेर उमारिएको पहेँलो आँकुरा नै जमरा हो । दसैंबाहेक अन्य पर्व र पूजाअनुष्ठानमा भने जमरा राखिँदैन । जौं रोपिएको घडामा नवदुर्गाको आहृवान गरी १० दिनसम्म पूजा आराधना गरिन्छ । दसैंको दिन देवीको प्रसादका रूपमा टीकासँगै जमरा लगाउने परम्परा नेपाली हिन्दूहरुको मात्र हो ।जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ। वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको छ ।पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । दसैंमा जमरा उमार्ने र लगाउने परम्पराले नेपाली संस्कृति र कृषिबीचको अन्तरसम्बन्धलाई समेत प्रस्ट्याएको छ ।निधारमा टीका र कान वा शिरमा जमरा सिउरिएपछि मात्रै दसैं मनाएको मानिन्छ । संस्कृतिसँगै जोडिएका मौलिक परम्पराले जैविक विविधता र हाम्रो दैनिकीलाई पनि चित्रित गर्ने गरेका छन् । यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0