NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

उपचारको क्रममा युवकको मृत्यु पछि जनकपुरको गोदावरी हस्पिटल प्रालिमा तोडफोड

उपचारको क्रममा युवकको मृत्यु पछि जनकपुरको गोदावरी हस्पिटल प्रालिमा तोडफोड

जनकपुर ।
जनकपुरको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल र मृतक पक्षबीच मिलापत्र गरेपछि यो घटना साम्य भएको छ ।धनुषाको धनौजी गाउँपालिका २ धनौजीका ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो । लगत्तै मृतकका आफन्तले हस्पिटलमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

अस्पताल परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । तोडफोडबाट सामान्य क्षति भएको अस्पतालका सञ्चालक डा. अशोक अधिकारीले बताए ।परिवारजनले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । मध्यराति उपचार खर्च मिनाहा र पाँच लाख रुपैयाँ अस्पताल पक्षले उपलब्ध गराउने सहमति भएपछि आफूहरुले शव बुझेको मृतकका जेठान दीपक पटेलले बताए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।

अत्यधिक पेट दुखेपछि आइतबार बिहान १० बजे पपुलाई अस्पताल भर्ना गरिएको थियो । भर्ना भएकै बेलादेखि समय समयमा चिकित्सक र नर्सले बेवास्ता गरेको र यहीँ ठीक हुन्छ भन्दै अरु अस्पतालमा लैजान नदिँदा मृत्यु भएको आफन्तजनको आरोप थियो ।अस्पतालका इन्चार्ज सुशील कुमार साहले उपचारमा बेवास्ता नभएको बताए । उनका अनुसार बिरामीलाई अत्यधिक पेट दुख्ने समस्या थियो ।

‘बिरामी भर्ना हुने बेला नै सिरियस थिए । ४–५ वटा पेनकिलर दिएपछि मात्र दुखाइ कम भएको थियो । समय–समयमा चिकित्सकले रेखदेख, औषधि उपचार गरेकै थिए । बिरामीको मृत्यु कसरी भयो भन्न सकिन्न,’ उनले भने, ‘बेवास्ता भएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0