NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

उपनिर्वाचन लड्न रास्वपाका सभापति लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेलले पाए टिकट

उपनिर्वाचन लड्न रास्वपाका सभापति लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेलले पाए टिकट

वैशाख १० गते हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारहरूलाई टिकट दिएको छ।

शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारहरूलाई टिकट दिएको हो। चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।

सर्वोच्च अदालतले सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो। उनले नागरिकता पुन:प्राप्ति गरिसकेका छन्।

तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बाराबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि ती क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचन हुन लागेका तीन वटै क्षेत्रमा रास्वपाले उम्मेदवार उठाउन लागेको हो। गठबन्धन नगरीकन नै यी क्षेत्रमा निर्वाचन लड्न रास्वपाले घोषणा समेत गरेको छ।

चितवन-२ मा सभापति रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेलले रास्वपाबाट टिकट पाएका हुन्। नेपाली कांग्रेसमा रहेका वाग्लेले शुक्रबार नै पार्टी छोडेको घोषणा गरेका थिए। यस्तै नेपाल सुशासन पार्टीका खरेलले पनि रास्वपासँग पार्टी एकीकरण गर्ने विषयमा छलफल भइरहेको बताएका हुन्।

उम्मेदवार बन्न लागेका तीनै जनालाई आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट दिएका थिए।

सभापति लामिछानेले तीनै जना उम्मेदवार उपनिर्वाचनबाट निर्वाचित हुने बताए।
‘निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रूपमा उभिनेछौं,’ उनले भने।

यस्तै उनले आफ्नो पार्टी देशकै सबभन्दा ठूलो र सबभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै खडा हुने पनि बताए।

उनले देशमा रहेका विज्ञहरूले मुलुकलाई सेवा गर्न, आफ्नो विज्ञता प्रस्तुत गर्ने ठाउँ बनाएको पनि बताए। कतिपय विज्ञहरू भएर पनि काम गर्ने देखाउने ठाउँ नभएकाहरूका लागि पनि यो पार्टी बनाएको उनले बताए।

यस्ता थुप्रै क्षमतावान व्यक्तित्वहरू यस पार्टीको माध्यमबाट मुलुकको सेवा गर्न भनेर बसेको पनि उनले बताए।

‘म कहाँ गएर मेरो विज्ञता प्रस्तुत गरौं, कहाँ गएर यो मुलुकको सेवा गरौं भनेर सोचिरहनुभएका सबैका लागि हामीले ठाउँ राखेका छौं। र म यहाँहरूलाई संकेत मात्रै गर्न चाहन्छु कि कयौं यस्ता क्षमतावान व्यक्तित्वहरू यस पार्टीको माध्यमबाट मुलुकको सेवा गर्न तयार बस्नुभएको छ,’ उनले भने, ‘निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ। र यो संकेत हो। कि राष्ट्र स्वतन्त्र पार्टी यो देशको सबभन्दा ठूलो र देशको सबभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ।’

स्वर्णिम वाग्ले, रमेश खरेल जस्ता व्यक्तित्वको पार्टीमा प्रवेश जनाउ घण्टीमात्रै रहेको पनि उनले बताए। यस्ता थुप्रै व्यक्तित्वहरू जोडिन लागेको भन्दै उनले संकेत पनि गरेका छन्।

‘यो जनाउ घण्टी मात्रै हो। डा. स्वर्णिम वाग्ले, रमेश खरेलसँगैको यो प्रेस भेटघाट कार्यक्रममार्फत् आम नागरिकलाई जानकारी दिने आजको यो कार्यक्रम त्यो आउँदै गरेको हजारौं क्षमतावान मानिसहरू जोडिन आँटेको कुराको जनाउ घण्टी मात्रै हो। सम्पूर्ण होइन,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0