NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

काठमाडौं महानगरलाई खुला संग्रहालयका रूपमा विकास गरिने : मेयर शाह

काठमाडौं महानगरलाई खुला संग्रहालयका रूपमा विकास गरिने : मेयर शाह

काठमाडौं ।
काठमाडौं महानगरलाई खुला संग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न ‘महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटनः महानगरको धन’ अन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कलाकारसँग सहकार्य गरी स्वर्णिम योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने नीति पनि कामपाले लिएको छ।

नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ। निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि टेवा पुर्‍याइनेछ। बौद्धनाथ र स्वयम्भूलाई महानगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्न आवश्यक समन्वय र कानुनी प्रबन्ध गरिने नीति पनि महानगरले लिएको छ।

स्थानीय समुदाय तथा विज्ञको समन्वय र सहयोगमा सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेश निषेध गरिनेछ। सम्पदा संरक्षण र प्रवर्द्धन हुने परम्परागत शैलीका घर निर्माण गर्न घरधनीलाई प्रोत्साहित गरिनेछ। हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको ‘हेरिटेज वाक’ सञ्चालन गर्ने गरी कार्यक्रम अघि बढाइनेछ।

काठमाडौं वडा नम्बर ३२ स्थित तिनकुनेको जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि संघीय सरकारसँग ठोस पहल गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइनेछ।

सवारीसाधनको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्कासन गर्नेलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

महानगरको फोहोर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्यौललाई अन्त्य गरी आगामी आर्थिक वर्षभित्र ठोस योजनासहितको दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने छ।

नीति तथा कार्यक्रममा महानगरभित्रको नदीनालाको नियमित सरसफाइ गर्न ‘नदी सरसफाइ स्वर्णिम योजना’ का रूपमा सञ्चालन गरिने जनाइएको छ। यसका लागि आवश्यक उपकरण खरिद गरी संस्थागत क्षमता विकास गरिने तथा वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गरिनेछ।

महानगरलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्दा विद्युतीय खरिद गर्ने नीति लिइनेछ। सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखन रोक लगाइने छ। मालपोत र नापीसम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन आवश्यक समन्वयसहित नीतिगत प्रबन्ध गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0