NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

काठमाडौं-मुम्बई उडान दुई वर्षपछि सुरु

काठमाडौं-मुम्बई उडान दुई वर्षपछि सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड-१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड-१९ पछि नेपाल-भारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो ।भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ।
नेपाल वायुसेवा निगमको अपरेसन विभागका निर्देशक क्याप्टेन रवीन्द्र शेरचनका अनुसार, निगमको न्यारोबडी विमानले दुई वर्षपछि आइतबार काठमाडौं–मुम्बई–काठमाडौं उडान गरेको हो ।विमानमा काठमाडौंबाट १ सय ३८ जना यात्रु मुम्बई गएका थिए भने उताबाट ७६ जना काठमाडौं आएका थिए । लकडाउन सुरु हुनुअघि निगमले ०७६ चैत २ गते मुम्बई र चैत ४ गते बैंगलोरमा अन्तिम उडान गरेको थियो ।निगमलाई नागरिक उड्डयन प्राधिकरणले मुम्बई र बैंगलोरका लागि सातामा ३/३ वटा उडानको अनुमति दिए पनि चैत २६ गतेसम्म यात्रुको मागका आधारमा रहेर बुधबार र शुक्रबार मुम्बई र मंगलबार र बिहीबार बैंगलोर उडान गर्ने तालिका बनाएको छ । कोरोनाअघि भारतको नयाँदिल्लीबाहेक मुम्बई, बैंगलोर, कोलकाता र बनारसमा काठमाडौंबाट दुईतर्फी उडान हुँदै आएका थिए । भारतले एयर बबल अवधारणा हटाउँदै आन्तरिक र अन्तर्राष्ट्रिय उडान कोभिड अघिकै संख्यामा खुला गरेको छ ।
०७६ चैतमा लकडाउन सुरु भएपछि नेपालले १ सय ६४ दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान रोकेको थियो ।
०७७ भदौंदेखि सीमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिए पनि भारतले नेपालबाट हुने चार्टर उडानमात्रै खुला गरेको थियो । तर भारतले दुवै देशका नागरिक र कूटनीतिज्ञलाई मात्रै उडाउने सर्तमा एयर बबल अवधारणामा ७२ घन्टाको पीसीआर जाँच अनिवार्य लगायतका सर्त राखेर ८ महिनापछि ०७७ पुसदेखि दुवै देशका ध्वजावहाकले दिनमा एक/एक उडानमात्रै गर्न पाउने सर्तमा सञ्चालन गराएको थियो । त्यसबेलादेखि रोक लगाइएको नेपाली र भारतीयबाहेक तेस्रो मुलुकका पर्यटकलाई आइतबारदेखि खुला भएको छ । अब नेपाल भारतका वायुसेवाबाट विदेशीले पनि यात्रा गर्न पाउनेछन् ।नेपाल र भारतले क्वारेन्टाइनमा बस्नुपर्ने, विमानस्थल परिसरभित्रकै र्‍यापिड पीसीआरको नियम हटाइए पनि कोभिडको खोप कार्ड अनिवार्य बोक्नुपर्ने, भारतको एयर सुविधा फाराम अनिवार्य भर्नुपर्ने र खोप नलगाएकाले पीसीआर गरेको हुनुपर्ने लगायत स्वास्थ्यसँग सम्बन्धित नियम भने हटाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0