काठमाडौं। गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि बोर्ड अफ एयरलाएन्स रेप्रिजेन्टेटिभ नेपाल (बार्न)ले अवलोकन गरेको छ। संगठनसँग आवद्ध वायुसेवा कम्पनीको प्रतिनिधिको सहभागितामा अवलोकन गरिएको हो।विभिन्न कम्पनीका प्रतिनिधि र जिआइए (गौतम बुद्ध क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थल)का कर्मचारीबीच छलफल भएको विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए।
विमानस्थल संचालन व्यवस्थापनका लागि प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णको मूल समिति र विमानस्थल प्रमुख दाहालको मूल समिति खडा गरिसकिएको जनाइएको छ।जेठ २ गतेपछि विभिन्न वायुसेवा कम्पनीले आफ्नो तालिका पेश गर्ने योजना रहेको उनले जानकारी दिए।
बार्नको तर्फबाट वायुसेवा कम्पनीलाई ल्याण्डिङ, रेन्ट, पार्किङ, ग्राउण्ड ह्याण्डलिङ, इन्धन लगायतका कुराहरुमा छुटको माग गरेका छौँ। हामीले विभिन्न क्षेत्रमा छुटको माग गरेका छौं,’ संगठनका एक उच्चपदाधिकारीले भने।
नागरिक उड्डयन प्राधिकरणले नेभिगेशन र पार्किङको छुट दिने प्रस्ताव उड्डयन मन्त्रालयमा गएपनि हाल सम्म स्वीकृत नभएको उनले जानकारी दिए। दसैं अघिनै अन्तर्राष्ट्रिय उडान गर्दै आएका अधिकांश वायुसेवा कम्पनीले नियमित व्यवसायिक उडान गर्ने तयारी रहेको उनले जानकारी दिए। यो विमानस्थलमा जजिरा एयरवेजले जेठ २ गते बाटै नियमित व्यवसायिक उडान गर्ने तालिका पाइसकेको छ।
संगठनका अनुसार यतिखेर फ्लाइ दुवई र एयर अरेबियाले पनि छिट्टै उडान गर्ने योजना बनाएका छन्।बार्न नेपालमा हवाई सेवा दिँदै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको छाता संगठन हो। यो गैरनाफामुलक संस्थाले विभिन्न मुलुकको वायुसेवा कम्पनी र यात्रुको हितमा काम गर्दै आएको छ। यस संस्थाअन्तर्गत अनलाइन र अफलाइन सेवा प्रदायक कम्पनी आवद्ध छन्।