काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई राजस्व नतिर्ने तीन वटा क्यासिनोको इजाजत पत्र रद्द गरेको छ ।
पटक-पटक सूचना निकालेर तिर्न आग्रह गर्दा समेत तिर्न अटेर गरेका इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पि आवर प्रालि काठमाडौं र ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) काठमाडौंको नाममा जारी भएको सञ्चालन इजाजत पत्र/अनुमति पत्र रद्द गर्ने निर्णय मंगलबार मन्त्रीस्तरीय निर्णयले गरेको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।
ती क्यासिनाको अनुमतिपत्र रद्द गरी खेल सञ्चालनमा रोक लगाउने र उक्त निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्ने निर्णय मन्त्रालयले गरेको हो ।यी क्यासिनो सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर सञ्चालनमा आएका थिए । यी कम्पनीबारे सरकारले ७ कात्तिक, २७ पुस, १९ माघ र १० चैतमा सूचना निकाल्दै रकम तिर्न ताकेका गरेको थियो । तर, रकम नतिरेपछि इजाजतपत्र रद्द गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
दुई वटा क्यासिनोको भने धरौटी जफत गर्ने निर्णय समेत मंगलबार नै भएको छ । विभागका अनुसार होटल टाइटर वान परिसर भैरहवा र होटल सांग्रिला परिसर काठमाडौंमा सञ्चालित एचएचएल म्यानेजमेन्ट सर्भिसेज (कैटीएम) प्रालिको भने धरौटी जफत गर्ने निर्णय भएको छ ।यो कम्पनीले सरकारलाई तोकिएको रोयल्टी रकम र इजाजतपत्र नविकरण दस्तुत नबुझाएपछि उसले बैंकमा राखेको धरौटी वापतको रकम नेपाल सरकारको राजस्व खातामा खिच्ने निर्णय मन्त्रालयले गरेको हो ।सो कम्पनीको १४ करोड २० लाख रुपैयाँ बराबरको धरौटी राजस्व खातामा खिचिएको छ । विभागका अनुसार सरकारको राजस्व नबुझाउने क्यासिनोमाथि कारबाही गर्ने क्रमलाई पछिल्लो समय तीब्रता दिइएको छ ।
तीन क्यासिनोको इजाजत रद्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1