NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

दलित ‘चमार’ समुदायमाथि विभेद : छुवाछुत मानेर महायज्ञमा गर्न दिएन प्रवेश ।

दलित ‘चमार’ समुदायमाथि विभेद : छुवाछुत मानेर महायज्ञमा गर्न दिएन प्रवेश ।

बारा ।
बारामा भइरहेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेशमा रोक लगाइएको छ ।

सुवर्ण गाउँपालिका वडा नम्बर १ स्थित घुसुकपुरमा गत चैत २६ गतेदेखि वैशाख ५ गतेसम्म पूजापाठ हुने गरी आयोजना गरिएको महायज्ञमा स्थानीय चमार समुदायलाई छुवाछुत मानेर प्रवेश गर्न दिइएको छैन।

स्थानीयका अनुसार कलश यात्रामा चमार समुदायकी महिला तथा युवती सहभागी हुन निकै प्रयास गरेका थिए। तर छोइने भन्दै कथित उच्च जातका व्यक्तिले कुनै हालतमा पूजामा सहभागी हुन नदिने अडान लिएपछि उनीहरू पछि हटे।

‘अरू बेला काम लाग्दा हाम्रो हरेक कुरा चल्छ तर महायज्ञमा छोइन्छ भन्यो। हामी पनि कलश भर्छौं, पूजा गर्छौं भनेका थियौं। तर उच्च जातका भन्नेहरूले भित्र पस्यौ भने घिसारेर कुट्छु भनेर धम्की दिए। घरसँगै टाँसिएर महायज्ञ हुँदैछ। बालबच्चाले पूजा गर्न नपाएर रोइराख्छ तर के गर्ने हामी? वडाध्यक्ष, मेयर सबैलाई भन्यौं, कसैले हाम्रो कुरा सुनेन। धेरै बोल्दा पिट्लान भनेर डर पनि लाग्छ,’ स्थानीय छठु रामले भने।

यो टोलमा करिब ८० चमार समुदायको बसोबास छ। कथित उच्च जातका व्यक्तिले उनीहरूलई महायज्ञमा पूजापाठमा रोक लगाएपछि त्यसविरूद्ध चैत १९ गते नेपाल दलित अगुवाले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गराएको थियो।

छुवाछुत गरेर विभेद गरेको भन्दै यज्ञ आयोजकसहित करिब एक दर्जन व्यक्ति विरूद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी परेको थियो। तर जिल्ला प्रशासनले पनि यो घटनामा अहिलेसम्म प्रक्रिया सुरू गरेको छैन।

छुवाछुत गरी भेदभाव गरिएको भनेर स्थानीयबाट निवेदन आए पनि अहिलेसम्म कारबाही प्रक्रिया अघि नबढाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले बताए।

‘हामीले के कसो भएको हो, के भयो भनेर एसपी साबलाई बुझ्न भन्यौं। उहाँले सम्झाउने, बुझाउने गर्नुभयो। तर महायज्ञमा अझै प्रवेश गर्न दिइएन भन्ने कुरा आएको छ। गाउँका दुई-चार जनाले व्यक्तिगत रूपमा महायज्ञ आयोजना गरेको छ भन्ने कुरा आएको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0