राजेन्द्र यादव,जनकपुरधाम
जनकपुरधाम : नेपाल र भारतको गरी जम्मा तीनवटा नागरिकता बनाएका भवेश मिश्र भन्ने आनन्द मोहन शरणले प्रहरीको फन्दामा परेका छन् । फन्दामा परेका भवेश मिश्रले नेपालको दुईवटा र भारतको एउटा नागरिकता प्राप्त गरेका छन् । उनले प्राप्त गरेको तीनवटै नागरिकताको प्रमाण सहित जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा मिश्रले दिएको वयान र प्रमाणको आधारमा उनलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा पठाइएको छ । मिश्रले जिल्ला अदालत धनुषामा दिएको एउटा वयानमा जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ जानकी बिहार कुण्डमा महन्तको सहयोगीको रुपमा बस्दै आएको मिश्रले पिताको नाम पवन मिश्र उल्लेख गरेका छन् । त्यसैगरी उनले धनुषा जिल्लाकै तत्कालीन तुलसियाही जब्दी वडा नम्बर २ बस्ने पवन मिश्रको छोरा आनन्द मिश्रको नाममा नेपाली नागरिकताको प्रमाण पत्र बनाएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ बाट र तुलसियाही जब्दीबाट लिएको नागरिकताको प्रमाणपत्रमा मिश्रकै फोटो रहेको छ । भारतको निर्वाचन आयोगबाट जारी मतदाता सूची र उनले बनाएको मतदाता परिचय पत्रमा पिताको नाम पवन मिश्र र आफ्नो नाम भवेश मिश्र नै उल्लेख गरेका छन् । फोटो पनि कार्डमा मिश्रकै रहेको छ । तुलसियाही जब्दी र जनकपुरधाम उपमहानगरपालिकाबाट मिश्रले लिएको नागरिकता वंशज हो । जनकपुरधाम उपमहानगर–८ बाट लिएको नागरिकता प्रमाण पत्रमा आनन्दमोहन मिश्र र नागरिकता नम्बर १७–०१–८–१०१५२ रहेको र २०७८ साल कात्तिक १७ गते जारी भएको देखिन्छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मिश्रको नागरिकता उपर छानविन भइरहेको बताए ।‘अनुसन्धानको प्रक्रिया जारी रहेकाले उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ’ उनले भने, तेहरो नागरिकता लिएको पुष्टि भए मिश्रको नागरिकता बदर लगायतका कारवाही हुन सक्छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मिश्रलाई जिल्ला प्रशासन कार्यालयले पठाएको पुष्टि गर्दै हिरासतमा राखिएको जनाएको छ । जनकपुरधाम वडा नम्बर ८ स्थित सुन्दर सदनका महन्थ नवलकिशोर शरणले मिश्रको नागरिकता सम्बन्धी अभिलेखको नक्कल जिल्ला प्रशासन कार्यालयबाट माग गरेपछि तेहरो नागरिकता प्रमाण पत्र बनाएको रहस्योद्घाटन भएको छ । उनले मन्दिरको महन्थ बनेर जग्गा हत्याउन नेपालकै दुईवटा नागरिकता लिएको देखिन्छ ।मिश्र भारतीय नागरिक रहेको महन्थ नवलकिशोर शरणले बताए ।‘भारतीय नागरिकले किर्ते गरी दुईवटा नागरिकता प्रमाण पत्र बनाएका छन्’ उनले भने, मिश्रमाथि जिल्ला प्रशासन कार्यालयले नागरिकताको अनुसन्धान गरी बदरको प्रक्रियामा अगाडि बढनु पर्छ । मठमन्दिरको जग्गा हत्याउन किर्तेजालसाजी गरी नागरिकता बनाउने गरिएको चलन जस्तै भइसकेको छ ।नागरिकता बनाएर मन्दिरको स्वघोषित महन्थ हुने र सम्पूर्ण जग्गा मासेर भाग्ने प्रवृति पछिल्लो समयमा झन बढेको छ ।
-सभार जनकपुर टुडेडटकमबाट