
जनकपुरधाम : प्रदेश २ को धनुषाको सबैला नगरपालिकामा सूचनाको माग गर्दै आज पाँचौं दिन रिले अनशन जारी
छ । भदौ ४ गते देखि पालिकाको गेटको अगाडी भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका पदाधिकारी र राजनीतिकर्मी अनसनमा बसेका हुन् ।
समयमा सूचना उपलब्ध नगराउँदा बाध्य भएर रिले अनसन सुरु गरेको समितिका संयोजक सुरेश यादवले जानकारी दिए । समितिले पालिकासँग गत जेठ २३ गते उजुरी दर्ता गराएर ९ वटा शिर्षकमा सूचना माग गरेको थियो । त्यसयघि मौखिक रुपमा पनि सूचना माग गरिएको थियो । तर, कर्मचारी र नगर प्रमुख विजय शंकर साहले वेवास्ता गरेको संयोजक यादवको गुनासो छ । उनका अनुसार दुई कुरालाई ध्यानाकषर्ण गराउन रिले अनसन सुरु गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको अधारमा छिटो छानबीन सुरु गर्नुपर्ने र मर्यादित रुपमा नगरबासीले सूचना पाउनु पर्ने उद्देश्यले अनशन सुरु गरेको संयोजक यादवको भनार्इ छ ।
अनशन स्थलबाटै जागरण अभियानसमेत सञ्चाल भइरहेको समितिका महासचिव मेथल साहले बताए । उनका अनुसार जागरण अभियान अन्तरगत प्रत्येक दिन निश्चित विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । पालिकाले भ्रष्टाचार गरेकै कारण सूचना उपलब्ध नगराएको उनको तर्क छ । पालिकामा हरेक शिर्षकमा अनियमितता भएको उनले आरोप लगाए ।