जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा प्रमुख रहेका विश्वनाथ यादव सरकारी कागज किर्ते मुद्दामा पुनः तानिएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट नक्कली प्रमाणहरु पेश गरी नागरिकता, पासपोर्ट बनाएको आरोपमा फरार रहिसकेका शहिदनगर नगरपालिका वडा नम्बर १ बालाबाखर बस्ने जिवछ यादवको छोरा विश्वनाथ यादवमाथि उच्च अदालत जनकपुरमा पुनः सरकारी कागज किर्तेको मुद्दा खोलिएको छ ।
सिडिओ कार्यालयमा बिचौलियाको काम गर्दै आएको बेला भारतीय नागरिकहरुलाई नागरिकता बनाएको, सरकारी कागज किर्ते गरी नागरिकता बनाएको आरोपमा मुद्दा दायर भएपछि उनी फरार रहेका थिए ।
एकबर्षभन्दा अधिक फरार रहेका विश्वनाथ यादव अहिले शहिदनगर नगरपालिकाको शिक्षा प्रमुख पदमा कार्यरत रहेका छन् । जिल्ला अदालत धनुषाले उनलाई सो मुद्दामा सफाई दिएपनि उच्च अदालत जनकपुरले उनले सफाई पाउनुपर्ने आधार नदेखिएको भन्दै मुद्दा पुनः खोलिएको हो ।
बालाबाखर कुम्भकरणस्थित रहेको प्राथमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) समेत रहेका यादवमाथि नेपाल सरकार बादी बन्दै पुनरावेदन गरेको हो । जिल्ला अदालको फैसलाबाट असन्तुष्टिपछि उनको मुद्दा उच्च अदालत जनकपुरमा पुनः खोलिएको हो ।
एकबर्ष भन्दा अधिक समयदेखि फरार भएका शिक्षा प्रमुख यादव अदालतले सफाई दिएपछि मात्र उनी घर फर्केका थिए । उनले सिडिओ कार्यालय धनुषाको कागजातहरुमा छेडखानी गरी किर्ते गरेको आरोप छ ।
नियम कानुनले नागरिकता पाउन नहुने नागरिकलाई नागरिकता बनाएको, भारतीय नागरिकलाई नागरिकताको रेडर्क किर्ते गरी कायम गरेको आरोपसहित उनीमाथि मुद्दा दायर भएको थियो ।
यादवले मोटो रकम घुस लिएर नागरिकता बनाउन सरकारी कागज किर्ते गर्दै आएका थिए । उनीमाथि मुद्दा चलिरहँदा उनी अहिले शहिदनगर नगरपालिकाको शिक्षा प्रमुख पदमा कार्यरत रहेका छन् ।