भदौ २५ गते ।
जनकपुरधामब: नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादवले नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् । सोमबार उनलाई नेकपा एमाले अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम राखिएको छ ।
यादवले एमाले प्रवेश गर्न लागेको पुष्टि गरे । कांग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले कार्यकर्ताको लागि उक्त पार्टी उपयुक्त नभएका कारण पार्टी त्याग गर्न लागेको बताए । यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उमेदवार हुने तयारी गरेका छन् ।
सोमबार उक्त क्षेत्रका करिब पाँच हजार नेता तथा कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने उनले दाबी गरेका छन् । यादव नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सभापति पदमा अकांक्षी थिए ।
उनलाई कांग्रेस नेता बिमलेन्द्र निधिनिकट जोगी पञ्जियारले दोस्रो राउण्डमा पराजित गरेका थिए । यसअघि उनी पार्टीका जिल्ला सचिव हुँदै उपसभापतिसम्म निर्वाचित भएका थिए । अधिवेशनमा देखिएको मतभेदले यो अवस्था आएको कांग्रेस नेताहरुको भनाइ छ ।