६ असार / नेपाली जनता दल र काजीमान आत्रेय नेतृत्वको समूह सहितको स्वतन्त्र समूहबीच एकता भएको छ । आज प्रज्ञा भवन कमलादीमा आयोजित एकिकरण समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरी एकता कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा काजीमान आत्रेय नेतृत्वको समूहले १ – वरिष्ठ उपाध्यक्ष, २ -उपाध्यक्ष, १ – उपमहासचिव, १ – कोषाध्यक्ष सहित २५ जना केन्द्रीय सदस्य पाएको छ भने स्वतन्त्र समूहको तर्फबाट १ – प्रवक्ता सहित ३ केन्द्रीय सदस्य पाएको छ । आत्रेय नेतृत्वको समूहबाट देशभरिमा १००० जना र स्वतन्त्र समूहबाट १०० जना प्रवेश हुने सहमति भएको वरिष्ठ उपाध्यक्ष तथा एकिकरण कार्यदलका संयोजक रघु परियारले जानकारी दिनुभएको छ ।
नेपाली जनता दलका संघीय परिषद् अध्यक्ष अनुप पहाडी ज्यूले अब राजनीतिको फोहोर नेपाली जनता दलले पखाल्ने बताउनुभयो भने बरिष्ठ उपाध्यक्ष काजीमान आत्रेयले नेपालको राजनीतिमा इतिहास बोकेको पार्टीको रूपमा रहेको नेपाली जनता दलले मात्र नेपाली जनताको प्रतिनिधित्व गर्ने बताउनुभयो । उपाध्यक्ष एवं मेगा हस्पिटलका अध्यक्ष किशोर जंग राणाले नेपाली जनता दलका सम्पूर्ण सदस्यहरू लाई २५ प्रतिशत छुटको व्यवस्था गर्ने बताउनु भयो । कार्यक्रममा शुभकामना मन्तव्यका लागि पूर्वराजदूत आशा लामा, कांग्रेस महासमिति सदस्य कृष्ण गुरुङ, प्रारङ्गिक खेतीका अभियन्ता गोपाल भण्डारी, समाजसेवी डा. जगदीश बैद्य लगायको उपस्थिति थियो ।