सिरहा।
सिरहा प्रहरीले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीले जनाएको छ । एक जनासँग प्रेस कार्ड फेला परेको छ । उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो खुल्न सकेको छैन । उनीहरुलाई चेकजाँचको क्रममा सिरहा नगरपालिका– १४ नेमचन चोकबाट पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकलको पछाडी सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति–९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका–२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेको छ । उनीहरु भारतबाट नेपाल तर्फ स. ९ प. ५१० नं. को मोटरसाईकलमा सवार भई आइरहेको थियो ।
पक्राउ परेका धमलासँग रामा एक्सप्रेस खबरको प्रेस कार्ड पनि छ ।
प्रहरीले उनीहरुको साथबाट नाइट्रोभेट–१० लेखिएको २५ ट्याब्लेट, स्पास्मो प्रोक्सभोन प्लस लेखेको ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ केमप्टी म्याङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल लागुऔषध र अन्य कागजातहरु बरामद गरेको छ ।
अवैध लागूऔषध, मोटरसाईकल, मोबाईल, एटीएम कार्ड, आई.डी. कार्ड, नागरीकता, राहदानी, ड्राईभिङ लाईसेन्स र नगद सहित फेला पारी रितपुर्वक बरामद उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले जानकारी गराए ।