NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

बोक्दैनन् मालसमान जनकपुरका रेल, मध्यफागुनबाट नियमित सञ्चालनको तयारी

बोक्दैनन् मालसमान जनकपुरका रेल, मध्यफागुनबाट नियमित सञ्चालनको तयारी

 

फाल्गुण १ ।
अनिल कर्ण  / जनकपुरधाम : यात्रुको सुरक्षा र तथा पूर्वाधार संरक्षणका लागि जयनगर–जनकपुरधाम–कुर्था रेलमार्गमा आइतबारबाट ‘ड्राइ रन’ रेल सेवा सुरु भएको छ । सुरक्षाअन्तर्गत अतिक्रमण भरहने रेल्वे ट्रयाक खाली गराउने, अवैध र अनुचित तरिकाले रेलमार्ग भएर बनाइएका बाटा बन्द गर्ने, रेल गुडिरहेका बेला ट्रयाक मानव तथा पशुविहीन हुने र रेल्वेका भौतिक पूर्वाधार संरक्षणका लागि दुई सातासम्म रेलको ड्राइ रन सेवा आरम्भ गरिएको रेल विभागका इन्जिनियर रवीन्द्रकुमार साहले बताए ।
रेलको ड्राइ रनका लागि पूर्वोत्तर बिसौनी इनरुवाबाट नेपाल रेल्वे कम्पनी लिमिटेडको रेल जयनगर–कुर्था–रेलमार्गमा आज गुडेको छ ।
रेलको औपचारिक सञ्चालन अर्थात् उद्घाटन फागुनको दोस्रो साताका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रस्ताव गरेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने भनिएको रेलको उद्घाटनका लागि कम्पनीले संघीय भौतिक पूर्वाधार मन्त्रालय र रेल विभागसमक्ष प्रस्ताव गरेको बताए ।
दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमले रेल सेवाको उद्घाटन गर्ने महाप्रबन्धक झाले जानकारी दिए ।
जनकपुर जयनगर–कुर्थासम्मको ३६ किलोमिटर रेलमार्गको विकास गर्न भारत सरकारको आर्थिक सहयोग रहेको छ ।
नियमित रूपमा रेल सञ्चालन गर्न आजबाट ड्राइ रन सेवा सुरु गरिएको महाप्रबन्धक झाले बताए । उनले खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, सङ्केतलगायतको परीक्षण हुने उल्लेख गरे । ड्राइ रनका क्रममा समस्याहरू देखिएमा तिनको तत्काल मर्मत गरिने पनि उनले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, नेपाल उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठ, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा, सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख एवम् डिआइजी गणेश ठाडा मगर, मधेस प्रदेशको आमसञ्चार प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवलगायत सञ्चारकर्मीहरू रेलमा गुडेर जनकपुरधामबाट कुर्था पुगेका थिए ।
जनशक्ति अभावलगायतका व्यवस्थापकीय कारणले नेपाल रेलवे कम्पनीको रेल सञ्चालनमा आउन सकेका थिएनन् ।
गत साल २ असोजमा भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएका थिए ।
रेलको ड्राइ रन गराउन सशस्त्र प्रहरीले सुरक्षा दिएको छ । सशस्त्र प्रहरी र रेल्वे कर्मचारीहरू ट्रयाक सुरक्षा, रेल्वे लिक क्रस गरी बनाइएका बाटा र वैधानिक बाटा आदिमा आज बिहानैबाट खटिएका थिए ।
रेल सञ्चालनका लागि ठाउँठाउँमा अतिक्रमित लिक खाली गराइएको छ भने रेल्वे लिकमै सञ्चालन हुने हाटबजार र लिक भएर हुने आवतजावतमा रोक लगाइएको छ ।
रेल्वे लिकमा जथाभाबी विचरण गर्ने तथा चर्ने पशुचौपाया नियन्त्रण गर्न स्थानीय निकायमार्फत सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराइएको महाप्रबन्धक झाले बताए ।
कम्पनीका अनुसार भोलिबाट ६० नेपाली र १४ भारतीय कर्मचारी रेल सञ्चालनको जिम्मेवारीमा संलग्न छन् । थप १२ भारतीय कर्मचारी यात्रुसहितको रेल सञ्चालन गर्ने बेलामा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0