भदौ २९ गते ।
जनकपुरधाम : मधेस प्रदेश महोत्तरीको भंगहा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमनका प्रमुख विजय कुमार यादवमाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको भन्दै नगरपालिका भित्र कर्मचारीहरु आन्दोलित भएपछि सेवाप्रवाह प्रभावित भएको छ ।
कर्मचारीहरु आन्दोलित भएपछि विगत ८ दिनदेखी नगरपालिकाका सेवाग्राहीहरु मारमा परेका हुन् ।
गत भदौ २० गते सोमबार नगर उपप्रमुख शान्ती कुमारी सिंहको नेतृत्वमा नगरपालिकामा कर्मचारीलाई कामकाज गर्न नदिई ताला लगाउन खोज्दा कर्मचारी र उपप्रमुखबीच भनाभन भएको थियो ।
सोही क्रममा उपप्रमुखसँगै पुगेका वडा नम्बर–४ का वडाध्यक्ष गणेश महतो र कार्यपालिका सदस्य विजय मण्डलले प्रशासन, योजना तथा अनुगमन प्रमुख विजय कुमार यादवलाई गालीगलौज गर्नुकासाथै हातपातसमेत गरेका थिए । त्यसपछि सोही दिनदेखि कर्मचारीहरु नगर कार्यपालिकाको कार्यालयलगायत ९ वटै वडा कार्यालयको कामकाज बन्द गरी आन्दोलित भएका छन् ।
उपप्रमुख सिंह, वडाध्यक्ष महतो र कार्यपालिका सदस्य मण्डलले यथाशिघ्र नगरसभामा गर्नुपर्ने माग गर्दै कर्मचारीमाथि जाइलागेको प्रशासकीय अधिकृत श्रवण कुमार साहले बताए । उनले नगरसभा नगरप्रमुखले आह्वान गर्नुपर्ने विषय रहेको र यसमा कर्मचारीको कुनै संलग्नता नरहने भएकोले नगरसभाको विषयमा कर्मचारीलाई हातपात गर्नु उचित नरहेको बताए ।
उनले वडाध्यक्ष महतोले यसअघि पनि लेखा अधिकृत रामेश्वर प्रसाद घिमिरेसँग विवाद गरेको गुनासो गरे । लेखा अधिकृत घिमिरेका साथै वडा नम्बर–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य शाखाका कर्मचारीहरु समेतलाई कार्यकक्षमा काम गरिरहेको बखत वडाध्यक्ष महतोले पटक पटक कार्यकक्षमा गई अभद्र व्यवहार गर्दै जथाभावी गालीगलौज तथा कार्यालयको सम्पत्तीसमेत तोडफोड गरेको उनले बताए ।
नगर प्रमुखमा पराजित विजय मण्डल र गणेश प्रसाद महतोले नेपाली काँग्रेस भंगहा नगर कमिटिको फेसबुक पेजसमेत प्रयोग गरी सम्पूर्ण कर्मचारीहरुप्रति भ्रामक भ्रम फैलाएको र कर्मचारीलाई बदनियतपूर्ण तरिकाले अफवाह फैलाएको आरोपसमेत उनले लगाएका छन् ।
नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जिउज्यानको उचित सुरक्षाको प्रत्याभूति गराई सहज रुपमा कार्य गर्ने वातावरण सिर्जना गर्न र सो निन्दनीय कार्य गर्ने वडाध्यक्ष महतो उपर हदैसम्मको कारवाही गर्न भंगहा नगरपालिका तथा प्रहरी प्रशासनसँग कर्मचारीहरुले माग गरेका छन् ।
यता, नगरपालिकाको आन्तरिक विवादका कारण वडा कार्यालयहरु पनि बन्द हुँदा अत्यावश्यक काम गराउन जाने सेवाग्राहीहरु काम नै नगराई खाली हात घर फिर्ता हुन बाध्य भएका छन् ।
यससम्बधनमा उपप्रमुख शान्ती कुमारी सिंहसँग बुझ्न खोज्दा उनले आफू काम विशेषले विराटनगरमा रहेकोले अहिले कुराकानी गर्न नसक्ने बताएकी छन् ।