NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

यात्रा रहेछ जिन्दगी :-नेपाल ट्रेड युनिय जिफन्ट महासँघ कोशि प्रदेश महिला कमिटि को उपाध्यक्ष-सकुन्तला बराल (सीता)

यात्रा रहेछ जिन्दगी :-नेपाल ट्रेड युनिय जिफन्ट महासँघ कोशि प्रदेश महिला कमिटि को उपाध्यक्ष-सकुन्तला बराल (सीता)

यात्रा रहेछ जिन्दगी

मानिसको जीवन जन्मदेखि मृत्युसम्मको यात्रा हो । कसैले चाहोस् वा नचाहोस् कालगतिले मरियो भने सबैले बच्चादेखि वृद्घावस्थासम्मको कालखण्ड भोग्नैपर्छ । चाहे धनीको होस् वा गरिबको गहिरिएर सोच्ने हो भने मानिसको जीवन केवल सुखको खोज हो । यसो गरेर हुन्छ कि उसो गरेर हुन्छ कि । यो पाएपछि हुन्छ कि त्यो पाएपछि हुन्छ कि भन्दाभन्दै मानिसले आफ्नो जीवन बितेको पत्तै पाउँदैन । कति मानिस सुखको अनुभूति गरेर मर्छन् यो रहस्यकै विषय हो, तर दु:ख छैन भन्ने मान्छे भेट्नचाहिँ मुस्किलै पर्छ ।आफ्नो ज्ञान, शिक्षा, सीप र क्षमताअनुसार जीविकोपार्जनका लागि मानिसले अनेक कर्म गर्छ

स्वच्छ हावापानी र प्राकृतिक रूपले सुन्दर ठाउँको यात्राले शरीरमा बेग्लै स्फूति भरिदिन्छ । एकै दिनको भए पनि पदयात्रामा निस्कँदा बेग्लै रोमाञ्चकता प्राप्त हुन्छ । एक्लै यात्रा गर्दा मनमा आउने अनेक भाव र सोचले आफैंलाई बुझ्न मद्दत गर्छ, आफ्नै जीवनलाई केलाएर हेर्ने फुर्सद पाइन्छ ।

एक्लै यात्रा गर्दा कतै एकान्तमा पुगेर धक फुकाएर रुन पाइन्छ, चिच्याउन पाइन्छ जसले मनलाई हल्का बनाउँछ । गुम्सिएको मन चंगा हुन्छ ।

यात्रा पनि अनेक खालका हुन्छन् । धन कमाउनका लागि कामको यात्रा, रमाइलोका लागि गरिने अनेक ठाउँको यात्रा, शिक्षा र अन्य अवसरका लागि गरिने यात्रा, अन्तर्मनको यात्रा, सम्बन्ध निर्माणको यात्रा, नयाँ ठाउँको फिरन्ते यात्रा । कसै–कसैको यात्रा सोचेजस्तो पनि हुँदैन । यात्राका क्रममा अनेक खालका रमाइला/नरमाइला घटना घट्छन् । कतिको यात्रा बीचमै मोडिन्छ, तोडिन्छ । कोही गन्तव्यमा पुग्छन्, कोही बीचमै अल्झिन्छन् । हुरी, बतास, घामपानी, उकाली–ओराली यात्राका क्रममा भोग्नैपर्छ । कति यात्रामै भेटिन्छन्, कति यात्रामै छुट्छन् । चाहे जस्तोसुकै यात्रा होस्, कसैले कसैलाई पनि अन्त्यसम्म साथ दिन सक्दैन । आफ्नो स्टेसन आएपछि सबैले बाटो फेर्छन् अर्थात् ओर्लन्छन् वा झर्छन् । सबैको गन्तव्य एउटै हुँदैन र कसैले साथ लान र कुरेर बस्न पनि सक्दैन । बेलाबखत मानिसले भौतिक रूपमा, वैचारिक रूपमा, भावनात्मक रूपमा पनि साथ पाउँछ तर अधिकांश समय मानिसको यात्रा एकल यात्रा हो ।

मानिस अरूका बारेमा गुनासो गरिरहन्छ, तर ऊ आफैं पनि अरूलाई सदैव साथ दिन सक्दैन । मानिसको जीवन विरोधाभासले भरिएको छ । एक्लै हुँदा साथ खोज्छ, साथ हुँदा स्वतन्त्रता खोज्छ । मानिसहरू जीवनलाई दौड सम्झेर तँछाडमछाड गर्दै कुदिरहेका भेटिन्छन् तर अहिलेसम्म कुदेर उनीहरूले के पाए र के गुमाए भनेर धेरैले लेखाजोखा गरेका हुँदैनन् । फुर्सद छैन भन्दाभन्दै जीवनले अवकाश दिने बेला भैसकेको पनि धेरैले पत्तो पाउँदैनन् । म भन्छु— यो जीवन कुनै दौड होइन केवल यात्रा हो, कतै पुग्नैपर्छ भन्ने छैन, केही पाउनैपर्छ भन्ने छैन, वश अघि बढिरहेको अनुभूति पर्याप्त छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0