NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

सुकुम्बासीको नाममा भइरहेको राजनीतिको अन्त्य गर्न कुम्बासी बस्ती भत्काउनेबारे बालेन शाहकाे समर्थनमा महानगरपालिकासँग ऐक्यवद्धता जनाउँदै प्रदर्शन

सुकुम्बासीको नाममा भइरहेको राजनीतिको अन्त्य गर्न कुम्बासी बस्ती भत्काउनेबारे बालेन शाहकाे समर्थनमा महानगरपालिकासँग ऐक्यवद्धता जनाउँदै प्रदर्शन

काठमाडौं । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यबद्धता जनाएको छ । मंगलबार समितिले सुकुम्बासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्बासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएको हो ।
समितिले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ । काठमाडौं महानगरसँग ऐक्यवद्धता जाहेर गरेपछि मंगलबार महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै समितिले सही सुकुम्वासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिङ्ग भएको बताएको छ । प्रदर्शनपछि बोल्दै आन्दोलित महेशलाल बज्राचार्यले सुकुम्वासीको नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्वासीको तथ्यांक संकलन गरी सही सुकुम्वासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
उनले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा भइरहेका गतिविधिहरुको अन्त्य हुन जरुरी रहेको बताए । उनले सुकुम्वासीहरुले नगरप्रहरीसमक्ष हिंसात्मक गतिविधि देखाएको भन्दै सरकारलाई सुकुम्वासी व्यवस्थापन गर्ने चाहना नै नभएको आरोप लगाए । उनले सुकुम्वासी आयोग, भूमि आयोग लगायतका सम्बन्धित निकायहरुले सुकुम्वासीको समस्या समाधान भएपछि आफ्नो सेवासुविधा नआउने डरले समस्या समाधानमा व्यवधान खडा गरेको बताए ।
उनले भने, ‘सुकुम्वासीको नाममा जसरी दादागिरी भएको छ,यो गलत छ, सुकुम्वासीको तथ्यांक संकलन गरी सही सुकुम्वासीको व्यवस्थापन हुनुपर्छ,भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन हुनुपर्छ । तर यसरी खोला किनारमा लथालिङ्ग तरिकाले होइन । सुकुम्वासीको खोल आढेर जसरी राजनीतिक दलहरुको छत्रछायाँ छ, उनीहरुलाई हटाउनैपर्छ ।’
उनले थपे, ‘खोला किनारमा बसेर दादागिरी देखएर, नगरप्रहरीसमक्ष हिंसात्मक गतिविधि गरेर यसले शहरको शान्ति सुरक्षामा नै खलल पुगेको छ । सरकारलाई सुकुम्वासी व्यवस्थापन गर्ने चाहना नै छैन, जतिपनि आयोगहरु छन्,उनीहरु यो व्यवस्थापन भएसँगै कार्यभार नै सकिन्छ, त्यसैले गर्न नै चाहेका छैनन् । आयोगहरु दलका कार्यकर्ताहरु भर्ती गर्ने ठाउँ भएका छन् । सुकुम्वासी, भूमि आयोगहरुको यो काम छ ।’
त्यस्तै अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरुले नै सुकुम्वासीहरुलाई काखी च्यापेको आरोप लगाए । उनले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरुको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरुले हस्तक्षेप गरिरहेको बताए । उनले सुकुम्वासीको नाममा काठमाडौं उपत्यकाको जमिन हडप्न नपाइने बताए ।
उनले भने, ‘लालपूर्जा भएको घर भत्काउँदा कुनैपनि राजनीतिक दलहरु नबोल्ने, अहिले सुकुम्वासी बस्ती भत्काउँदा किन यति धेरै । राजनीतिक दलहरुले किन संरक्षण गरिरहेको छ, सुकुम्वासीलाई सक्कली सुकुम्वासी छनोट गरेर व्यवस्थापन हुनुपर्छ । काठमाडौैंको जमिन किन अतिक्रमण ।’त्यस्तै अर्का प्रदर्शनकारी प्रमोदनाथ श्रेष्ठले सुकुम्वासीको सही व्यवस्थापन हुनुपर्ने तर हुकुम्वासीहरुलाई हटाउन आवश्यक रहेको बताए । उनले राम्रा कामका लागि उपत्यकाका जनताले सधैँ समर्थन गर्ने भन्दै सरकार र राजनीतिक दलहरुको हस्तक्षेप भइरहे आन्दोलन थप चर्काउने चेतावनी दिए ।
उनले भने, ‘सुकुम्वासीलाई प्राथमिकता दिऔं, हुकुम्वासीलाई हटाऔँ । राम्रा कामको लागि उपत्यकावासी सबैले साथ समर्थन दिन्छ । यो आन्दोलन भइरहनेछ । तीन पुस्ते नागरिकता हेरेर सही सुकुम्वासीको पहिचान हुनुपर्छ ।’प्रदर्शनकारीले उपत्यकाको भूमिलाई सुकुम्वासी भूमि बनाउन पाइँदैन, सुकुम्वासीको नाममा राजनीति गर्न पाइँदैन, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0