दार्चुला। दार्चुलामा मतदान गर्न सदरमुकाबाट गाउँ जाने क्रममा पुरुषको हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।व्यास गाउँपालिका-४ को डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या अभियोगमा सोही ठाउँका २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेले सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका विष्ट मंसिर २ गते मतदान गर्न भनेर घर गएका थिए ।३ गते बेलुकादेखि सम्पर्कविहीन बनेका विष्ट मंसिर ४ गते स्थानीय गोदार खोलामा ढुंगाले च्यापेको अवस्थामा मृत भेटिएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा अनुसन्धान गर्ने क्रममा मंसिर ३ गते राति १० बजेतिर डोब भन्ने ठाउँमा मृतकसँगै मदिरा सेवन गरेका दिपकले हत्या गरेको खुलेपछि पक्राउ गरिएको डीएसपी पाण्डेले बताए ।अभियुक्त विष्टले विवादका क्रममा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर शव घिसारेर दुई सय मिटर तल गोदरा खोलामा फालेर ढुंगाले च्यापेको बयान दिएको प्रहरीको भनाई छ ।जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर विष्टमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मृतक विष्ट विगत १० वर्षदेखी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका थिए । उनका श्रीमति र ४ जना नाबालक छोरी रहेका छन् ।