NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

गृहमन्त्री लामिछाने राहदानी विभाग निरीक्षणमा दैनिक ६ हजारको हाराहारीमा सेवाग्राहीहरू पासपोर्ट विभाग पुग्ने

गृहमन्त्री लामिछाने राहदानी विभाग निरीक्षणमा दैनिक ६ हजारको हाराहारीमा सेवाग्राहीहरू पासपोर्ट विभाग पुग्ने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगे । राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।मन्त्री लामिछानेले सोमबार शपथ लिएका थिए । उनले मंगलबार पनि राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्या बुझेका थिए ।विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको दिनमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र लाइन्सेन्स वितरणको समस्या हल गर्ने निर्णय गरेको थियो ।पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

नारायणहिटीबाट त्रिपुरेश्वरस्थित सुविधा सम्पन्न भवनमा राहदानी विभाग सरेको एक वर्ष पूरा भइसकेको छ। तर पासपोर्ट पाउनकै लागि बिहान झिसमिसेमै सर्वसाधारणले लाइन बस्नुपर्ने समस्या अझै हल भएको छैन। अझ पासपोर्टका लागि आवेदन दिन समेत सर्वसाधारणले समस्या खेपिरहेका छन्।विभागले अर्जेन्टमा पासपोर्ट बनाउने र वितरण गर्ने काम गर्छ । अर्जेन्टमा पासपोर्ट बनाउँदा सामान्य शुल्कभन्दा धेरै बढी शुल्क तिर्नुपर्छ । सामान्य अवस्था जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाउँदा मात्रै ५ हजार रुपैयाँमा साधारण अर्थात् ३४ पृष्ठको पासपोर्ट बनाउन सकिन्छ । ६६ पृष्ठको पासपोर्ट बनाउने हो भने जिल्ला प्रशासन कार्यालयबाट बनाउँदा मात्रै १० हजार रुपैयाँमा पासपोर्ट बनाउन सकिन्छ । तर त्रिपुरेश्वरस्थित विभागको कार्यालयबाट अर्जेन्टमा पासपोर्ट बनाउँदा ३४ पृष्ठको साधारण पासपोर्ट बनाएपनि १२ हजार रुपैयाँ तिर्नुपर्छ । यदि ६६ पृष्ठको पासपोर्ट बनाउने हो भने २० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
दैनिक करिब ६ हजारको हाराहारीमा सेवाग्राहीहरू पासपोर्ट बनाउने प्रयोजनका लागि विभागको कार्यालयमा पुग्ने गरेका हुन्छन् ।पासपोर्ट वितरणमा विकेन्द्रीकरणको सिद्धान्त लागू हुन नसक्दा पासपोर्ट विभागमा सधैँ भीड भएको हो । पासपोर्ट बनाउन सबै जना पासपोर्ट विभागमै आएको कारण धेरै भीड भएको छ । तर पासपोर्ट यहाँमात्रै नभएर बाहिरका ७७ वटै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि जारी हुन्छ भनेर बुझ्न र बुझाउन भने यो भीड नियन्त्रण हुन सक्छ । अहिले यहाँ दैनिक ५–६ हजार मानिसहरू सेवा लिन आएका छन्। काठमाडौँमै बसेकाहरू पासपोर्ट बनाउन जिल्ला जान नचाहनु पनि भीड हुनुको पहिलो कारण हो । छिटो सेवा पाइने भएकाले बढी रकम तिरेर भए पनि मानिसहरू यहीँबाट पासपोर्ट लिन आएका छन् ।
विभागले अहिले तीन दिनभित्र पासपोर्ट दिइरहेको छ । तर जिल्ला प्रशासन कार्यालयबाट दुईदेखि तीन सातामा उपलब्ध हुन सक्छ । भीड लाग्नुको अर्को कारण एजकुसेनल कन्सल्टेन्सीहरू काठमाडौँमै हुनु पनि हो । अध्ययनका लागि बाहिर जानेहरूले काठमाडौँबाटै आवेदन दिने र पासपोर्ट पनि यहीँ बुझाउने भएको कारण यहीँ बनाउँदा सहज देखेकाले हो । वैदेशिक रोजगारीमा जानका लागि काठमाडौँ केन्द्रित म्यानपावर कम्पनी रहनु पनि हो ।
कतिपय सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयबाटै पासपोर्ट भन्छ भन्ने थाहासमेत छैन । त्यहीँबाट पासपोर्ट भन्छ भन्ने थाहा नहुँदा सेवाग्राहीको भीड विभागमा हुने गरेको छ ।जिल्ला प्रशासन कार्यालयले समयमै पासपोर्ट वितरण गर्न नसुक्नु पनि अर्को कारण हो । अहिले तत्कालका लागि यहाँको जनशक्तिलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यहीँबाट अलि सहजीकरण गर्न यहाँको क्षमता पनि बढाउनुपर्ने हुन्छ । त्यस्तै गरेर बाहिर बाटै पासपोर्ट लिने व्यवस्था गर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयमा जनशक्तिको अभाव वा ज्ञानको कमी हो भने त्यहाँ तालिम दिने र जनशक्ति थप्ने गरेर पनि छिटो सेवा दिन सकिन्छ । प्राविधिक क्षमता बढाउनुपर्ने हुन्छ । जिल्ला प्रशासनबाटै सेवा दिने व्यवस्था गर्न सके र जनतालाई बुझाउन सके पासपोर्टमा भीड आउने कुरा नै हुँदैन । विभागमा अहिले क्षमताभन्दा तीन गुणा बढी सेवाग्राहीको चाप लाग्ने गरेको छ ।
राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले भने , सन् २०२० र २०२१ मा कोभिडका कारण माग अनुसार राहदानी वितरण गरेनौं। २०२२ मा अहिले माग ह्वात्तै बढेकाले समस्या देखिएको बताउँछन् ।राहदानी विभागबाट हामी द्रुत सेवा सेवा दिन्छौं। जबकि, ७७ जिल्ला प्रशासन र १७ इलाका प्रशासन कार्यालयबाट हामी आवेदन लिइरहेका छौं। म सेवाग्राहीलाई के आग्रह गर्न चाहन्छु भने यदि राहदानी विभागको द्रुत सेवा आवश्यक छैन भने आफ्नो जिल्लाबाट वा इलाकाबाट राहदानी सेवाका लागि आवेदन दिनुहोस्।पहाडी जिल्लाको हकमा कलेक्सन सेन्टर भएर हुलाकले लैजाने भएकाले अलिक समय लाग्ने गरेको छ। त्यो जिल्लामा २५ देखि ३० दिन लाग्दै आएको छ। राहदानी विभागमा देखिएको भिड हटाउन आ–आफ्नो सम्बन्धित जिल्लाबाट राहदानीको आवेदन दिन म सबैलाई आग्रह गर्छु। अहिले अनलाइनबाट फारम भर्दा पनि अन्य जिल्लाको भर्न सजिलो छ। तर माग सबभन्दा धेरै राहदानी विभागमै छ। यादवले भने , दिनमा हामी औसत ६ हजार ५ सय पासपोर्ट छाप्छौं। जसमध्ये २ हजारको आवेदन राहदानी विभागमा आइरहेको छ। हामीलाई अहिलेको माग जिल्लाबाट कम भयो भने सेवाग्राही र हामीलाई सजिलो हुन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0