NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

मिथिलाञ्चलमा सामा चकेवाको रौनक सुरु

मिथिलाञ्चलमा सामा चकेवाको रौनक सुरु

 

कार्तिक २७ गते ।
जनकपुरधाम : मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म चल्ने छ। पर्वको ११औं दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ।

दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन्। पर्वको पहिलो दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन थालेका छन्।

सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि सामा चकेवालाई राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन्।

दश दिनसम्म यस्तै गीत गाएर सामा चकेवा खेल्दै समूहमै सबैले सबैको दाजुभाइका दीर्घायुको कामना गर्ने गर्दछन्। ११औं दिन बिहानै सामा चकेवालाई पुनः रङरोगन गरी दिनभर सुकाएर बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले वनमा वा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन्।

मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमै गएर पर्व मनाउने इच्छा गर्ने भएकाले टाढा–टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्न माइत जाने गर्दछन्।

मध्यतराईको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा पनि यो पर्व लोकप्रिय रहेको छ। मिथिलाञ्चलमा छठपर्व खरनाको दिनदेखि सामा चकेवा पर्व आगमन हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0