NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

मिर्चैयाका मेयर यादवले अरू पार्टीमा लागेको भन्दै एकल महिलाको घर भत्काइदिए

मिर्चैयाका मेयर यादवले अरू पार्टीमा लागेको भन्दै एकल महिलाको घर भत्काइदिए

सिरहा । सिराहाको मिर्चैया नगरपालिकाले एक दलित र एकल महिलाको घर भत्काएर उठिबास गराएको छ । सडक विस्तारका नाममा मिर्चैया नगरपालिका-१ महदेवाकी अरुणा देवी महराको घर नगरपालिकाले भत्काइदिएको हो

जनमत पार्टीले पत्रकार सम्मेलन गर्दै यो कदमको भत्र्सना गरेको छ । पत्रकार सम्मेलनमा पीडित एकल महिला महराले व्यक्तिगत रिसिइबिका कारण मेयर श्रवणकुमार यादवले सडक विस्तारका क्रममा मापदण्डभन्दा बढी जग्गामा डोजर चलाउन लगाएर आफ्नो घर भत्काइदिएको बताइन् ।

उनले आफूले वर्षौँअघि ऐलानी जग्गामा घर बनाई दुई छोरीसँग बसिरहेकोमा केही दिनदेखि सडक विस्तारका नाममा अराजक तरिकाले जथाभाबी गाली, धम्की, भय त्रास सृजना गरी रातिको समयमा डोजर प्रयोग गरी घर भत्काएको आरोप लगाइन् । जनमत पार्टीमा लाग्दा यादव आफूमाथि चिढिएको पनि उनको आरोप छ ।

विकासको नाममा सुकुम्वासी, दलित, एकल महिलालाई घरविहीन बनाउने अधिकार नेपालको संविधान वा स्थानीय सरकार सञ्चालन ऐनले नगरपालिकालाई नदिएको जनमत पार्टीका नेताले बताए । दलित सुकुम्वासी महिलाको पीडामा सहयोग गर्नुको सट्टा सडकका नापभन्दा बाहेकमा रहेको घर पनि अमानवीय तरिकाले रातिको समयमा तोडफोड गरिएको जनमतको आरोप छ ।

मेयर यादवले आफ्नो सत्ताको दम्भमा असंवैधानिक कार्य गरेको पनि जनमत पार्टीका मिर्चैया नगर अध्यक्ष पटवारी ठाकुरले आरोप लगाए । उनीहरूले यो समस्याको तत्काल समाधान गर्न पनि मेयर यादवसँग आग्रह गरेका छन् । उनीहरूले पीडितलाई न्याय दिनुपर्ने, तोडफोड गर्नेलाई कारबाही गर्नुपर्ने, पीडित सुकुम्वासी दलित महिलालाई पुनर्वासको व्यवस्था गर्नुपर्ने, साबिकको सडक कायम गरी पीडितको घर जग्गा सुनिश्चित गर्नुपर्नेलगायत माग गरेका छन् ।

पीडितका माग सम्बोधन नगरिए चुप लागेर नबस्ने पनि जनमत पार्टीले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा जनमत पार्टीका नेता जागेश्वर साह, अंजय साह, संतोष पासवानलगायतका साथै पीडित परिवार पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0